सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

रामेछाप। सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरमा सोमबार बिहान करिब १०:३० बजे बसको ठक्करबाट एउटा कार सुनकोशी नदीमा खसेको छ।

प्राप्त जानकारीअनुसार सडकमा रोकिराखिएको कारलाई यात्रुवाहक बसले ठक्कर दिँदा कार सीधै सुनकोशी नदीमा खसेको थियो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाग्रस्त कारमा चार जना सवार थिए। समाचार तयार पार्दासम्म नदीमा खसेको कार र त्यसमा सवार यात्रुहरूको अवस्था अज्ञात रहेको छ भने उद्धारको प्रयास जारी छ।

दुर्घटनामा परेको कारका चालक तिलकुमार लामा रहेको र उनी मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग सम्बद्ध ठेकेदार भएको बताइएको छ।

घटनास्थल रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमानामा पर्ने नवलपुरघाट नजिकै रहेको छ। सिन्धुली प्रहरीले घटनाको थप विवरण आउन बाँकी रहेको जनाउँदै घटनास्थलमा प्रहरी र उद्धार टोली परिचालन गरी बेपत्ताहरूको तदारुकताका साथ खोजी भइरहेको जानकारी दिएको छ।

छुटाउनुभयो कि ?