जनकपुरधाम। केही दिनयता अशान्त बनेको मधेस प्रदेशको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा हटेसँगै यस क्षेत्रमा चहलपहल र आर्थिक गतिविधि बढेको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते भएको गोलीकाण्डमा गणेश यादवको मृत्यु भएपछि बिहीबारदेखि मधेस प्रदेशका विभिन्न क्षेत्र तनावग्रस्त बनेका थिए।
तर, गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौता भएपश्चात् स्थिति नियन्त्रणमा आई मधेस प्रदेश पुनः पुरानै लयमा फर्किन थालेको हो।
शान्ति सुरक्षाको स्थितिमा सुधार आएसँगै धनुषा, सिराहा र सप्तरीका प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले लगाएको कफ्यु तथा निषेधाज्ञा हटाइएको छ। निषेधाज्ञा हटेपछि सडकमा यातायातका साधन सञ्चालन हुन थालेका छन् भने बन्द रहेका बजार तथा पसलहरू पुनः खुलेका छन्।
स्थानीय विनोद साहका अनुसार यातायात सेवा सुचारु भएसँगै सर्वसाधारणको आवतजावत बढेको छ र मानिसहरूको जनजीवन सहज बन्दै गएको छ।
यसैबीच, सम्बन्धित जिल्लाका स्थानीय प्रशासनहरूले कुनै पनि किसिमको भ्रामक अफवाहमा विश्वास नगर्न र एकापसमा सामाजिक सद्भाव तथा भाइचारा कायम राख्न सर्वसाधारण र सरोकारवाला सबै पक्षलाई आग्रह गर्दै सूचना जारी गरेका छन्।