काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न स्थानमा मध्यमदेखि भारी र केही क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार आज देशका पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। विशेष गरी कर्णाली प्रदेशको पहाडी भू-भाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। प्रवक्ता विभूति पोखरेलका अनुसार विगत २४ घण्टामा देशका अधिकांश स्थानमा वर्षा भइसकेको छ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भू-भागमा भारी वर्षा हुनुका साथै कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, मंगलबार र बुधबार पनि कोशी, बागमती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका विभिन्न भागमा भारी वर्षा दोहोरिने विभागले जनाएको छ। वर्षाको गतिविधि तीव्र हुने भएकाले जोखिमयुक्त (सुन्तला रङले सङ्केत गरिएका) क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ।
यसैबीच, विभागको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा बहने स-साना नदी तथा खोलामा बहाव उल्लेख्य बढेर आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम रहेको चेतावनी दिएको छ। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका खोलानालाहरूमा बाढीको उच्च जोखिम रहेको छ।
यस्तै ताप्लेजुङ, सिन्धुपाल्चोक, कास्की, चितवन, पाल्पा, गुल्मीलगायत विभिन्न २५ भन्दा बढी पहाडी तथा तराईका जिल्लाहरूमा मध्यम जोखिम रहने अनुमान गरिएको छ। विभागले नदी तटीय क्षेत्र तथा होचा भू-भागका बासिन्दालाई पूर्वतयारीका साथ सुरक्षित रहन, खोला किनारमा अनावश्यक आवतजावत नगर्न र यात्रा गर्दा विशेष सजगता अपनाउन अपिल गरेको छ।