काठमाडौं। अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्ला जोड्ने प्रमुख राजमार्ग तथा मुख्य सडकखण्डहरूमा सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बाढी-पहिरोको उच्च जोखिमका कारण कतिपय सडक पूर्ण रूपमा ठप्प भएका छन् भने केही राजमार्गमा रात्रिकालीन सवारी साधन सञ्चालनमा कडा प्रतिबन्ध लगाइएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाइएको छ।
त्यसैगरी कान्तिलोकपथमा पनि बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लागू गरिएको छ। वर्षाका कारण इलामस्थित मेची राजमार्गको सडकखण्ड हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द हुन पुगेको छ।
उता सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेर सडक ठप्प भएको छ। दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गर्दा लामासाँघु–रामेछाप सडकखण्ड अवरुद्ध बनेको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीको कटानका कारण पासाङ ल्हामु सडकखण्ड तथा गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो जाँदा लार्के–बेनीघाट कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
वर्षायाममा बाढी, पहिरो र सडक कटानको खतरा उच्च रहने भएकाले यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सडकको अद्यावधिक अवस्था बुझ्न र आवश्यक सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ।