देशभर सामान्यदेखि पूर्ण बदली: कुन-कुन क्षेत्रमा हुँदैछ त आज वर्षा?

देशभर सामान्यदेखि पूर्ण बदली: कुन-कुन क्षेत्रमा हुँदैछ त आज वर्षा?

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।

सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। दिउँसो हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका साथै मधेस प्रदेश र तराईका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू-भाग र मधेस तथा लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको जोखिम रहेका क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो र भू-क्षय हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकुल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन अनुरोध गरिएको छ।

छुटाउनुभयो कि ?