काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुन गइरहेको 'राष्ट्रिय भेला'का लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ।
शनिबार चूनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै इतर समूहले मूल समितिका साथै १६ वटा विभिन्न उपसमितिहरू समेत निर्माण गरिएको जानकारी दिएको हो।
राष्ट्रिय भेलाको उद्देश्य र एजेण्डा
पत्रकार सम्मेलनमा बोल्दै संयोजक डा. शशांक कोइरालाले पार्टीलाई वैचारिक, नीतिगत र सङ्गठनात्मक रूपमा सबल बनाउन राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताए। भेलामा पार्टीको वर्तमान स्थिति, मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा नागरिक जीवनसँग जोडिएका समसामयिक मुद्दाहरूमा गहन छलफल हुनेछ।
"पार्टीभित्र एकताका लागि निरन्तर प्रयास र धैर्यता देखाउँदा पनि नेतृत्वबाट अपेक्षित भूमिका देखिएन," डा. कोइरालाले भने, "यसले गर्दा नेता, कार्यकर्ता र शुभेच्छुकमा बढेको निराशा र चिन्तालाई सम्बोधन गर्न यो भेला अनिवार्य बनेको हो।"
धार्मिक सद्भाव र राष्ट्रिय एकतामा जोड
सम्बोधनका क्रममा डा. कोइरालाले लोकतान्त्रिक संविधानमाथि चुनौती थपिएको र साम्प्रदायिक द्वन्द्वका घटनाहरू बढ्दै गएको भन्दै राष्ट्रिय एकताको आवश्यकता औंल्याए। उनले हालै सुनसरी लगायतका क्षेत्रमा भएका घटनाका घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरे।
इतर पक्षले राजनीतिक स्थिरता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जोगाउन पार्टीभित्रको आन्तरिक एकताका साथै प्रमुख राष्ट्रिय शक्तिहरूबीच सहमति र सहकार्य हुनुपर्नेमा जोड दिएको छ।
भेलामा को-को सहभागी हुने?
काठमाडौंमा हुने तीन दिने राष्ट्रिय भेलामा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, पूर्व केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, जनप्रतिनिधिहरू र शुभेच्छुकहरूलाई सहभागी हुन आह्वान गरिएको छ।