निर्मल पुर्जाको सकुशल उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न नेपाली कांग्रेसको आग्रह

निर्मल पुर्जाको सकुशल उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न नेपाली कांग्रेसको आग्रह

काठमाडौं।  नेपाली कांग्रेसले पाकिस्तानको ब्रड पिक क्षेत्रमा हिमपहिरोमा परी सम्पर्कविहीन हुनुभएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स) को सकुशल खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोत, साधन र संयन्त्र परिचालन गर्न आग्रह गरेको छ।

शुक्रबार पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा विश्व पर्वतारोहण जगतमा नेपालको नाम उच्च राख्न सफल पुर्जा सम्पर्कविहीन भएको समाचारले पार्टीलाई अत्यन्तै चिन्तित र मर्माहत बनाएको उल्लेख छ।

विज्ञप्तिमा पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरी बनाएको विश्व कीर्तिमान तथा उनकै नेतृत्वमा नेपाली टोलीले के-टु  हिमालको इतिहासमै पहिलो पटक गरेको सफल शीतकालीन आरोहणको स्मरण गरिएको छ।

साथै उनको पुस्तक 'बियन्ड पसिबल'  र नेटफ्लिक्स वृत्तचित्र '१४ पिक्स: नथिंग इज इम्पसिबल' मार्फत नेपाली पर्वतारोहीको क्षमता र राष्ट्रिय गौरवलाई विश्वसामु चिनाउन पुर्‍याएको योगदानको प्रशंसा गरिएको छ। कांग्रेसले निर्मल पुर्जा केवल एक व्यक्ति मात्र नभई नेपालको साहस, अदम्य इच्छाशक्ति र राष्ट्रिय गौरवको सशक्त प्रतीक भएको उल्लेख गरेको छ।

यस संवेदनशील घडीमा पुर्जाको सकुशल खोजीका लागि पाकिस्तान सरकार, सम्बन्धित सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय उद्धार संयन्त्रलाई उपलब्ध सम्पूर्ण प्रविधि र विशेषज्ञ जनशक्ति अधिकतम परिचालन गरी उद्धार कार्यलाई उच्च प्राथमिकता दिन आग्रह गरिएको छ।

त्यस्तै नेपाली कांग्रेसले नेपाल सरकारलाई पनि पाकिस्तान सरकार, नेपाली दूतावास तथा अन्तर्राष्ट्रिय निकायहरूसँग उच्चस्तरीय कूटनीतिक समन्वय गरी उद्धार प्रयासमा सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेको छ। आवश्यक परेमा नेपालबाट पर्वतारोहण विज्ञ तथा उद्धार विशेषज्ञहरूको टोली तुरुन्त परिचालन गर्ने सम्भावनाबारे समेत अध्ययन गरी तत्काल कदम चाल्न सरकारसँग अनुरोध गरिएको छ।

छुटाउनुभयो कि ?