काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतर्फ र पूर्वी नेपालमा सरदर स्थान आसपास रहेकाले आज देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ। हाल लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बदली छ भने बाँकी प्रदेशहरूमा साधारणतया बदली भई बागमतीका केही तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ। यस क्रममा हिमाली भेगका केही र पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। विशेष गरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै, आज राति पनि देशभर साधारणतया बदलीकै स्थिति रहनेछ। रातिको समयमा हिमाली तथा पहाडी भागका केही र तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना देखिएको छ। यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका साथै मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी र पहिरोको जोखिम बढ्न सक्ने भएकाले जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायातमा समेत आंशिक असर पर्न सक्ने भएकाले सर्वसाधारण र सम्बद्ध निकायहरूलाई आवश्यक पूर्वतयारी एवं सावधानी अपनाउन अनुरोध गरिएको छ।