ब्रोड पिक हिमपहिरो: ४ आरोहीको शव फेला, बेपत्ता 'निम्स दाइ'सहित अन्यको खोजी तीव्र

ब्रोड पिक हिमपहिरो: ४ आरोहीको शव फेला, बेपत्ता 'निम्स दाइ'सहित अन्यको खोजी तीव्र

काठमाडौं। पाकिस्तानस्थित आठ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार गएको भीषण हिमपहिरोपछि खटिएको भू-उद्धार (ग्राउन्ड रेस्क्यु) टोलीले चार जना आरोहीको शव फेला पारेको छ। एल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्सद खानका अनुसार फेला परेका शवहरूको पहिचान खुल्न बाँकी छ।

काराकोरम हिमशृङ्खलामा रहेको ब्रोड पिकमा बिहीबार मध्याह्नतिर गएको हिमपहिरोमा परी कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहितको आरोहण टोली परेको थियो। एल्पाइन क्लब अफ पाकिस्तानले आफ्नो आधिकारिक इन्स्टाग्राम खातामार्फत जारी गरेको विज्ञप्ति अनुसार हिमपहिरोमा परी बेपत्ता हुनेहरूमा पुर्जासहित छ जना नेपाली र अन्य विदेशी आरोहीहरू रहेका छन्।

बेपत्ता आरोहीहरूको उद्धारका लागि एल्पाइन क्लबका अध्यक्ष खानसहितको टोलीले पाकिस्तानी सरकारी निकाय तथा उद्धार एजेन्सीहरूसँग निरन्तर समन्वय गरिरहेको छ।

मौसम तथा हिमाली अवस्था अनुकूल हुनासाथ हेलिकप्टरका साथै उपलब्ध सबै स्रोत र साधन परिचालन गरेर खोजी कार्यलाई तीव्रता दिने हरसम्भव प्रयास भइरहेको एल्पाइन क्लबले जनाएको छ। संस्थाले परिस्थितिको सूक्ष्म अनुगमन गर्दै उद्धारमा खटिएका निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ।

छुटाउनुभयो कि ?