काठमाडौं। अविरल वर्षा, पहिरो तथा खोलाको बहाव बढेपछि देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सहायक सडक खण्डहरूमा सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार देशका दर्जनाैँ स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने सम्भावित जोखिम टार्न केही राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।
जोखिम नियन्त्रणका लागि काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६:०० देखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। त्यसैगरी, कान्तिलोकपथमा पनि साँझ ५:०० देखि बिहान ५:०० बजेसम्म सवारी चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ।
अत्यधिक वर्षाका कारण पूर्वी क्षेत्रमा पर्ने इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा सडक हिलाम्मे भई गाडी चल्न नसक्ने अवस्था बनेको छ। बागमती प्रदेशका विभिन्न जिल्लामा पनि पहिरो र सडक कटानले आवागमन ठप्प पारेको छ। ललितपुरको कान्तिलोकपथमा सुक्खा पहिरो खसेको छ भने मकवानपुरको महालक्ष्मी खोला नजिक पहिरो जाँदा भीमफेदी–कुलेखानी–काठमाडौँ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेको छ भने दोलखाको किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गर्दा लामासाँघु–रामेछाप खण्ड बन्द भएको छ। त्यसैगरी रसुवाको खाल्टेमा त्रिशूली नदीले सडक काटेपछि पासाङ ल्हामु राजमार्गमा समेत गाडी चल्न सकेका छैनन्।
कर्णाली र गण्डकी प्रदेशतर्फ जाजरकोट–डोल्पा सडकअन्तर्गत मूलपानी खोलाको बाढीले सडक बगाएको छ भने बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको सुकेबगर र रघुगङ्गामा आज बिहान खसेको पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध पारेको छ। वर्षायाममा बाढी, पहिरो तथा सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रामा निस्कनुअघि अनिवार्य रूपमा नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायबाट सडकको अद्यावधिक अवस्थाबारे जानकारी लिन र उच्च सतर्कता अपनाउन नेपाल प्रहरीले सबैमा आग्रह गरेको छ।