काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति र सुनसरीको कप्तानगञ्जमा भएको घटनालाई लिएर विपक्षी दलहरूले सरकारको कडा ध्यानाकर्षण गराएका छन्।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानमा उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक वासना थापालाई बोल्न समय दिएका थिए।
सचेतक थापाले सीमाका विषयमा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको भनाइबारे सरकारले प्रस्ट पार्नुपर्ने माग अझै पूरा नभएकाले संसद्मा विरोध जारी राख्न बाध्य हुनुपरेको बताइन्। उनले हालै सुनसरीको कप्तानगञ्जमा स्थानीय युवक ओमप्रकाश मेहताको ज्यान जाने गरी भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै नागरिकको जीउधनको रक्षा र सुरक्षा सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराइन्।
यस्तै, नेकपा (एमाले) का सांसद पद्माकुमारी अर्यालले सीमाका विषयमा दुई महिनाअघि संसद्मा प्रधानमन्त्रीले बोलेको विषय सच्याउन माग गरिन्। उनले सुकुमवासी समस्याको द्रुत समाधान, रासायनिक मलको आपूर्ति र भारतमा मल खरिद गर्न जाँदा पक्राउ परी २५-२६ दिनदेखि भारतीय जेलमा रहेका चार नेपालीलाई सकुशल स्वदेश फर्काउन सरकारसँग आग्रह गरिन्। कप्तानगञ्ज घटनामा दंगा नियन्त्रण गर्न राज्य असफल भएको आरोप लगाउँदै सांसद अर्यालले संयमता अपनाएर समस्याको राजनीतिक समाधान खोज्न र 'सबै बाँचौँ, सबैलाई बचाऔँ' को अवधारणामा काम गर्न सुझाइन्। साथै, उनले मनसुनी वर्षाका कारण हुनसक्ने क्षति न्यूनीकरणमा जुट्न सरकारको ध्यानाकर्षण गराइन्।
बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले सीमासम्बन्धी अभिव्यक्ति सच्याउन गरिएको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै दुःख व्यक्त गरिन्। कप्तानगञ्ज घटनाप्रति सरकार गम्भीर नभएको उनको आरोप थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद खुश्बु ओलीले सुनसरी घटनाको दिगो र राजनीतिक समाधान खोज्न तथा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलहरू जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिइन्।
यसैगरी, श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनुपर्ने माग दोहोर्याए। सुनसरीलगायतका क्षेत्रमा देखिएको अशान्ति हल गर्न सरकारले नै अग्रसरता लिनुपर्ने बताउँदै उनले यस्ता संवेदनशील विषयमा बल प्रयोग गर्नुको सट्टा कूटनीतिक र राजनीतिक पहलबाट समाधान खोजिनुपर्ने धारणा व्यक्त गरे।