नेपालमा मनसुन सक्रिय: आज दिउँसो र राति कहाँ-कहाँ हुँदैछ वर्षा?

नेपालमा मनसुन सक्रिय: आज दिउँसो र राति कहाँ-कहाँ हुँदैछ वर्षा?

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान वरपर तथा पश्चिमी भू-भागमा सरदरभन्दा केही उत्तरतर्फ अवस्थित छ।

यसको प्रभावले अहिले मधेश प्रदेशमा आंशिक बदली रहे पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली भएको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानका साथै सुदूरपश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ। विशेष गरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभरको मौसम साधारणतया बदली नै रहने अनुमान गरिएको छ। रातिको समयमा देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानका साथै मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना देखिएको छ।

यसैगरी रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

छुटाउनुभयो कि ?