काठमाडौँ। सरकारले विभिन्न ९ वटा विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने लगायतका मन्त्रिपरिषद् बैठकका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकलगत्तै पत्रकार सम्मेलनमार्फत निर्णयहरूबारे जानकारी गराएका हुन्।
बैठकले संसद्मा पेस गर्न स्वीकृति दिएका विधेयकहरूमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा संक्रामक पशुरोग नियन्त्रणसम्बन्धी विधेयक रहेका छन्।
यस्तै, राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, बालश्रम निषेध तथा नियमित गर्नेसम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि संसद्मा पेस गर्ने निर्णय भएको छ।
अन्य मुख्य निर्णयहरू:
विदेशी विनिमय कसुर अनुसन्धान: सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरिएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समिति: समितिको सदस्य पदमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गरिएको छ।
नियमावली स्वीकृत: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली–२०८३ लाई स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।