काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने (एलपीजी) ग्यासको कुनै अभाव नरहेको स्पष्ट पारेकी छन्। केही दिनयता बजारमा ग्यास पाउन छाडेको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि मन्त्री यादवले यसप्रति विशेष चासो देखाउँदै आपूर्ति सहज रहेको बताएकी हुन्।
मन्त्रालयले बजारमा ग्यासको मौज्दात र आपूर्ति व्यवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै मन्त्री यादवले अनावश्यक हल्लाको पछाडि नलाग्न र त्रसित नहुन सर्वसाधारणलाई आग्रह गरेकी छन्।
अति आवश्यक मात्र खरिद गर्न र मौज्दात नराख्न मन्त्रालयको अनुरोध
ग्यास वितरणमा देखिएको केही प्राविधिक/प्रशासनिक अलमललाई ध्यानमा राख्दै मन्त्रालयले उपभोक्तालाई तत्कालका लागि आवश्यक मात्रामा मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ। अवस्थालाई सामान्य बनाउन सहयोग पुर्याउनका लागि अनावश्यक रूपमा घरमा ग्यास सिलिन्डर सञ्चय (होडिङ) नगर्न पनि मन्त्रालयले सबैको ध्यानाकर्षण गराएको छ।
आयल निगमलाई आपूर्ति सहज बनाउन कडा निर्देशन
बजारमा देखिएको सानातिना समस्यालाई तत्काल समाधान गरी ग्यास आपूर्ति व्यवस्थालाई साविककै अवस्थामा फर्काउन मन्त्री यादवले नेपाल आयल निगमलाई कडा निर्देशन दिएकी छन्। मन्त्रीको निर्देशनलगत्तै आयल निगमले बजार अनुगमनलाई तीव्र बनाउने र वितरण प्रणालीलाई थप व्यवस्थित तथा पारदर्शी बनाउने प्रतिबद्धता जनाएको छ।