काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र गम्भीर आन्तरिक कमजोरी भएका कारण वर्तमान अवस्था सिर्जना भएको स्वीकार गर्दै अब व्यापक वैचारिक पुनर्गठन र शुद्धीकरण आवश्यक रहेको बताएका छन्।
एमाले लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित 'मिसन पार्टी जागरण अभियान' को शुभारम्भ कार्यक्रममा बोल्दै उनले कार्यकर्तामा चरम निराशा छाएको र यो पार्टी जीवनकै ठूलो पराजय भएको टिप्पणी गरे।
महासचिव पोखरेलले पार्टीको परम्परागत जनाधार खस्किएकोप्रति चिन्ता व्यक्त गर्दै लक्षित वर्गले एमालेलाई विश्वास गर्न छाडेको बताए। भूमिहीन, वैदेशिक रोजगारीमा रहेका श्रमजीवी, विद्यार्थी, किसान र शिक्षकहरू पार्टीबाट टाढिँदै गएको उल्लेख गर्दै उनले उत्पीडित वर्गको नेतृत्वसमेत युट्युबरहरूले गर्न थालेको स्थिति बनेको स्वीकार गरे। एमाले सत्तामा हुँदा न्याय पाइन्छ भन्ने विश्वास जनतामा गुमेकाले अब अरूको निर्देशनको भर नपरी आफैँले योजना बनाएर काम गर्नुपर्नेमा उनले जोड दिए।
सामाजिक सञ्जालमार्फत एमालेविरुद्ध गलत भाष्य निर्माण गरिएको र पार्टीले गरेका राम्रा कामहरू ओझेलमा पारिएको पोखरेलको दाबी छ। सहरिया युवा, नवयुवा र विदेशमा बसेका नेपालीहरू टाढिएको स्थानीय चुनावपछि नै थाहा भएकाले 'मिसन ग्रासरुट' सञ्चालन गरिए पनि युवा लक्षित कार्यक्रमहरू प्रभावकारी हुन नसकेको र पार्टी असफल भएको उनले बताए।
सरकारका माध्यमबाट बलियो हुने होडमा वर्ग सङ्घर्ष भुलेर नेताहरू सत्तामुखी र हाकिममुखी बन्दा जनतासँगको सम्बन्ध उल्टिएको उनको भनाइ थियो।
प्रदेश सरकार गठन र नयाँ गठबन्धनका सन्दर्भमा बोल्दै महासचिव पोखरेलले एमाले नेपाली कांग्रेससँगै मिल्ने पक्षमा रहे पनि कांग्रेस तयार नभएकाले यो बाध्यताको परिणाम भएको स्पष्ट पारे।
वर्तमान सरकारको जग लोकप्रियतावाद र अराजकतावादमा अडिएको टिप्पणी गर्दै उनले त्यसको वास्तविक स्वरूपबारे जनस्तरसम्म सन्देश पुर्याउनुपर्ने बताए। कार्यकर्ताको भावना र पार्टीको बृहत्तर हितका लागि खुला रूपमा जुनसुकै निर्णय लिन नेतृत्व तयार रहेको उनले उल्लेख गरे।