काठमाडौं। अनशनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबिच धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा औपचारिक छलफल सुरु भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा दुवै पक्षका प्रतिनिधिबिच डा. केसीका मागबारे संवाद भएको हो।
वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा सहभागी छन्। यस्तै डा. केसीको तर्फबाट उनका सहयोगी डा. अमृत जैशी र पवन थापा छलफलमा बसेका छन्।
यसअघि सरकारलाई साउन ५ गतेसम्म माग पूरा गर्न दिइएको समयसीमालाई बेवास्ता गरिएपछि डा. केसीले साउन ७ गतेदेखि पुनः अनशन सुरु गरेका थिए।
डा. केसीले अघि सारेका प्रमुख मागहरू:
-
गेटा अस्पताल सञ्चालन: गेटा विश्वविद्यालय अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्दै तत्काल कम्तीमा तीन सय शय्याको स्वास्थ्य सेवा र आवश्यक जनशक्ति थपेर एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने।
-
विवादास्पद नियुक्ति खारेजी: दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा भएका स्वार्थ बाझिने खालका नियुक्ति रद्द गरी ऐन संशोधन नभएसम्म निष्पक्ष अन्तरिम नेतृत्व चयन गर्नुपर्ने।
-
छात्रवृत्ति र सिट वृद्धि फिर्ता: चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति कटौती गर्ने र मापदण्ड नपुगेका निजी कलेजहरूमा सिट बढाउने निर्णय तुरुन्त खारेज गर्नुपर्ने।
-
कानुन र विगतका सहमतिको पालना: राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने कानुनी प्रावधान कार्यान्वयन गर्नुपर्ने र पुराना सरकारहरूसँग भएका सम्झौताहरू पालना हुनुपर्ने।
-
पूर्वाधार विकास: सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका बासिन्दाले स्वास्थ्य, शिक्षा र रोजगारीका लागि विदेशमा निर्भर हुनुपर्ने बाध्यता अन्त्य गर्न पूर्वाधार विस्तार गर्नुपर्ने।
-
कारबाही र निष्पक्ष छानबिन: गत भदौ २३ र २४ गते भएका हत्या, लुटपाट तथा आगजनीका दोषीलाई कारबाही गरिनुपर्ने र २०४६ सालयताका सबै उच्चस्तरीय भ्रष्टाचार तथा अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कदम चालिनुपर्ने।