१ रुपैयाँको नयाँ सिक्कामा चुच्चे नक्सा र आकाश भैरवको चित्र राखिने, स्टिल प्रयोग गरी लागत घटाइने

१ रुपैयाँको नयाँ सिक्कामा चुच्चे नक्सा र आकाश भैरवको चित्र राखिने, स्टिल प्रयोग गरी लागत घटाइने

काठमाडौँ । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएको यो नयाँ डिजाइन कार्यान्वयनका लागि अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगिसकेको छ।

यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङस्थित घार गुम्बाको तस्वीर समेटिएको डिजाइन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको थियो। तर मन्त्रिपरिषद्ले उक्त प्रस्ताव फिर्ता गर्दै परिमार्जित डिजाइन तयार गर्न निर्देशन दिएपछि नयाँ डिजाइनमा आकाश भैरवको चित्र समावेश गरिएको हो। नेपाल राष्ट्र बैंक ऐन अनुसार कुनै पनि नोट वा सिक्काको नयाँ डिजाइन वा डिजाइन परिमार्जन गर्न मन्त्रिपरिषद्बाट स्वीकृत गराउनुपर्ने कानुनी व्यवस्था छ।

आकार र तौल घट्ने, मिश्रित धातुको सट्टा स्टिल प्रयोग हुने

नयाँ सिक्कामा नेपालको चुच्चे नक्सा यथावत् राखिने भए तापनि यसको आकार र तौल भने घटाइने भएको छ। हाल प्रचलनमा रहेको एक रुपैयाँको सिक्का उत्पादन गर्दा अंकित मूल्य (१ रुपैयाँ) भन्दा बढी खर्च लाग्ने भएकाले उत्पादन लागत घटाउन नयाँ सिक्कामा मिश्रित धातुको सट्टा स्टिल प्रयोग गर्ने तयारी गरिएको छ। स्टिलको प्रयोगले उत्पादन खर्च घट्नुका साथै वातावरणीय दृष्टिले पनि दीर्घकालीन रूपमा लाभदायी हुने अपेक्षा राष्ट्र बैंकको छ।

६४ योगिनीको प्रतीक थोप्लाहरू कायमै

सांस्कृतिक एवं परम्परागत पक्षलाई निरन्तरता दिँदै नयाँ सिक्कामा ६४ योगिनीको प्रतीकका रूपमा रहने ६४ वटा थोप्लाहरू भने यथावत् राखिनेछन्। राष्ट्र बैंकका अनुसार सिक्कामा समावेश गरिने यी चित्र तथा चिह्नहरूले नेपालको इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई प्रतिबिम्बित गर्नेछन्।

छुटाउनुभयो कि ?