काठमाडौं। पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा उत्रिनुभएका वरिष्ठ चिकित्सक प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सरकारले उपचार र वार्ताको पहल तीव्र पारेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा. केसीको उपचार व्यवस्थापनमा प्रत्यक्ष चासो देखाउँदै प्रभावकारी समन्वयका लागि अस्पताल प्रशासनलाई निर्देशन दिएकी छन्।
मन्त्री मेहताले धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. हेमराज पाण्डेसँग टेलिफोन संवाद गरी डा. केसीको उपचारमा कुनै कमी हुन नदिन र उच्च सतर्कता अपनाउन निर्देशन दिएकी हुन्।
यसैक्रममा मन्त्रालयका प्रमुख सल्लाहकार डा. मनोहर प्रधानले पनि अस्पताल प्रशासनसँग निरन्तर सम्पर्कमा रही डा. केसीको पछिल्लो स्वास्थ्य अवस्था र उपचार प्रक्रियाको जानकारी लिएका छन्।
धनगढी उपमहानगरपालिका-१ स्थित कृष्ण मन्दिर धर्मशालामा सत्याग्रह सुरु गर्नुभएका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।
चिकित्सकहरूले डा. केसीको अवस्थालाई हेरेर लामो समय सोही अस्पतालमा राखिरहनु जोखिमपूर्ण हुनसक्ने सुझाव दिएपछि मन्त्रालयले थप उच्चस्तरीय उपचारका लागि वैकल्पिक व्यवस्था र तयारी समेत अघि बढाएको छ।
यसैबीच, डा. केसीका मागहरूमाथि छलफल गरी समाधान खोज्न सरकारले आजै टोली धनगढी पठाउने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका प्रतिनिधिहरू सम्मिलित संयुक्त वार्ता टोली धनगढी प्रस्थान गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।