काठमाडाैं। काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ बराबरका अर्थोपेडिक इम्प्लान्ट (हाडजोर्नीमा प्रयोग हुने सामग्री) हस्तान्तरण गरेको छ।
महानगरवासीका साथै विपन्न र बेवारिसे बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने उद्देश्यले महानगरले ११५ प्रकारका इम्प्लान्ट सेन्टरलाई उपलब्ध गराएको हो।
सामग्री हस्तान्तरण गर्दै काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक अभावकै कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने सोचका साथ सहयोग गरिएको बताइन्। महानगरबाट प्राप्त यी सामग्रीको सहयोगमा करिब ३०० जना बिरामीले निःशुल्क उपचार पाउने अनुमान गरिएको छ।
सहयोगप्रति आभार व्यक्त गर्दै ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले महानगरको यो कदमले अस्पतालको सेवा थप प्रभावकारी बन्ने विश्वास दिलाए। साथै, प्राप्त सामग्रीको पूर्ण पारदर्शी रूपमा सही उपयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीका अनुसार सामाजिक सुरक्षा एकाइको सिफारिसमा विपन्न तथा बेवारिसे बिरामीलाई र महानगरको सिफारिसका आधारमा काठमाडौं महानगरवासीलाई मौज्दात रहेसम्म निःशुल्क इम्प्लान्ट उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।