काठमाडाैं। सामाजिक सञ्जाल तथा विभिन्न युट्युब माध्यमहरूबाट भ्रामक प्रचार गरेको र चरित्रहत्या हुने अभिव्यक्ति दिएको आरोपमा अभियन्ता वेदिका केसीलाई प्रहरीले काठमाडौँको जोरपाटीबाट पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीको टोलीले कथावाचिका राधिका दासीले दिएको औपचारिक उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो।
ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) दिलीप कुमार गिरिका अनुसार सामाजिक सञ्जालमार्फत अफवाह फैल्याएको, गम्भीर गाली बेइज्जती गरेको र चरित्रहत्या गर्न खोजेको उजुरी परेपछि अनुसन्धानका लागि केसीलाई हिरासतमा राखिएको हो। पक्राउ परेकी केसीविरुद्ध साइबर कसुर मुद्दामा थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट एक दिनको म्याद थप समेत भइसकेको ब्युरोले जनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा सनातन धर्मभित्र रहेका विकृति, अन्धविश्वास, नक्कली धामी-झाँक्री तथा 'माता' भनिनेहरू विरुद्ध आवाज उठाउँदै आएको दाबी गर्ने वेदिका र कथावाचिका राधिका दासीबिच केही समयदेखि आरोप-प्रत्यारोप चलिरहेको थियो।
राधिका दासीको धार्मिक गतिविधि, व्यक्तिगत जीवन र महायज्ञहरूसँग जोडिएका विषयमा प्रश्न उठाउँदै आएकी वेदिकामाथि सीमाभन्दा बाहिर गएर अफवाह फैलाएको र गाली बेइज्जती गरेको आरोप लागेपछि प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत कानुनी प्रक्रिया अगाडि बढाएको हो।