नयाँ पुस्तालाई सही संस्कार र संस्कृति दिनु आवश्यक छ: माधव नेपाल

नयाँ पुस्तालाई सही संस्कार र संस्कृति दिनु आवश्यक छ: माधव नेपाल

काठमाडौं।नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ पुस्तालाई सही संस्कार र संस्कृति हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले पछिल्लो समय देखिएको ‘जेनजी आन्दोलन’ हामीले नयाँ पुस्तालाई कस्तो संस्कार दिइरहेका छौँ भन्ने कुराको उदाहरण बनेको टिप्पणी गरे।

सह-संयोजक नेपालले परिवर्तनका संवाहक र आन्दोलनका अगुवाहरूले कहिल्यै पनि राज्यको सम्पत्तिमा तोडफोड तथा विध्वंस मच्चाउने वा राष्ट्रका गौरवशाली व्यक्तित्वहरूको अपमान हुने अवस्थाको कल्पना नगरेको बताए। उनले पुष्पलाल, बीपी कोइराला, मदन भण्डारी, तुल्सीलाल अमात्य, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता राष्ट्रिय व्यक्तित्वहरूको योगदानको कदर गर्दै विश्वसामु शिर ठाडो पारेर अघि बढ्नुपर्नेमा जोड दिए।

नयाँ पुस्तामा उब्जिएका असन्तुष्टि र गुनासोहरूलाई अमूर्त रूपमा टारेर नपुग्ने भन्दै उनले तिनलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए। देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण, दोषीलाई कारबाही, सुशासनको प्रत्याभूति, रोजगारी सिर्जना, गरिबी निवारण र विकासका ठोस योजना बनाएर जनताको पीडा र वेदनासँग जोडिनुपर्ने उनको भनाइ थियो।

यसैगरी, उनले कामको वस्तुगत मूल्यांकन नगरी सबैलाई एउटै दृष्टिकोणबाट हेर्ने र अमूर्त रूपमा सबैलाई उस्तै भन्दै आलोचना गर्ने प्रवृत्ति उचित नभएको उल्लेख गरे। देशको वर्तमान परिस्थितिप्रति राजनीतिकर्मी, सामाजिक अभियन्ता र देशभक्त नागरिकसहित प्रत्येक नागरिक गम्भीर र जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए।

छुटाउनुभयो कि ?