काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले देशको शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रमा देखिएका समस्या, चुनौती र आगामी नीतिगत सुधारका विषयमा आज सरोकारवालाहरूसँग बृहत् छलफल आयोजना गर्ने भएको छ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलको मुख्य उपस्थितिमा मन्त्रालयमै हुने उक्त बैठकमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न प्रमुख संघ-संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ।
समग्र शैक्षिक परामर्श व्यवसायलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने मन्त्रालयको उद्देश्य रहेको छ। छलफलका क्रममा कन्सल्टेन्सी व्यवसायको वर्तमान स्थिति, निजी क्षेत्रले झेलिरहेका व्यावहारिक तथा कानुनी अड्चन, गुणस्तरीय सेवाको प्रवर्द्धनका साथै नियामकीय व्यवस्थाबारे गम्भीर समीक्षा गरिने मन्त्रालयले जनाएको छ।
उक्त महत्त्वपूर्ण बैठकमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान), शैक्षिक परामर्श व्यवसायी संस्था (एरी), जापानिज भाषा स्कुल संघ (जालसान), नायर, नेका, एक्यान, नेवा र नेक्सालगायतका दर्जनभन्दा बढी छाता संगठनका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।
छलफलका क्रममा विशेष गरी ‘शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ का प्रावधानहरूका साथै यस क्षेत्रका समसामयिक विषयमा सरोकारवालाहरूबाट प्रत्यक्ष सुझाव संकलन गरिनेछ।
शिक्षा क्षेत्रको सुधारका लागि मन्त्रालयले निरन्तर सम्बद्ध पक्षहरूसँग संवाद गर्दै आएको छ। शिक्षामन्त्री पोखरेलले पछिल्लो समय शैक्षिक संस्था, निजी क्षेत्र र सरोकारवालाहरूबाट प्राप्त व्यावहारिक सुझावका आधारमा नीतिगत सुधार र आवश्यक समन्वयलाई विशेष प्राथमिकता दिँदै आएका छन्।