काठमाडौँ — विवाहित महिलाहरू लक्षित प्रतिष्ठित सौन्दर्य प्रतियोगिता 'मिसेस् नेपाल २०२६' को आवेदन खुला गरिएको छ। आयोजक संस्था रिबन इन्टरटेनमेन्टले बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको औपचारिक घोषणाका साथै आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएको हो। प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाहरूले डिजिटल वालेट 'खल्ती' एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमा उपलब्ध फारममार्फत आवेदन दिन सक्नेछन्।
यस वर्षको प्रतियोगितामा आयोजकले केही नयाँ विधाहरू पनि समावेश गरेको छ। रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यस पटक 'मिसेस् नेपाल कस्मो' नामको नयाँ शीर्षक थपिएको छ। योसँगै अब एउटै मञ्चबाट मिसेस् नेपाल वर्ल्ड, मिसेस् नेपाल इन्टरनेसनल र मिसेस् नेपाल कस्मो गरी तीनवटा मुख्य विजेताहरू चयन गरिनेछ। यसबाहेक, एकपटक विवाह भई सम्बन्धविच्छेद भएका वा एकल महिलाहरूका लागि 'एमएस नेपाल इन्टरनेसनल' नामको छुट्टै विधासमेत व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागी हुनका लागि २१ देखि ५० वर्षसम्मको उमेर समूह तोकिएको छ भने शारीरिक उचाइ र तौलको कुनै सीमा वा मापदण्ड राखिएको छैन। एकपटक विवाह भइसकेका, सम्बन्धविच्छेद भएका तथा एकल महिला सबैले यसमा सहभागिता जनाउन सक्नेछन्। काठमाडौँ बाहिरका इच्छुक प्रतिस्पर्धीका लागि पोखरा, इटहरी र विराटनगर जस्ता प्रमुख सहरहरूमा अडिसन सञ्चालन गरिनेछ भने विदेशमा रहेका नेपाली महिलाहरूले अनलाइनमार्फत अडिसन दिन सक्नेछन्। प्रतियोगिताको पहिलो अडिसन आगामी साउन २३ गतेका लागि तय गरिएको छ भने अन्तिम प्रतिस्पर्धा (ग्रान्ड फिनाले) कात्तिक १४ गते हुनेछ। छनोटमा परेका प्रतिस्पर्धीहरूलाई ४५ दिनको विशेष राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गरिनेछ।
कार्यक्रममा आफ्ना अनुभव साट्दै 'मिसेस् नेपाल वर्ल्ड २०२५' की विजेता रक्षा पन्तले यो मञ्च सौन्दर्य प्रदर्शनका लागि मात्र नभई महिलाहरूको आत्मविश्वास अभिवृद्धि गर्न निकै प्रभावकारी रहेको बताइन्। नेपाली समाजमा अझै पनि विवाहित महिलालाई घरगृहस्थीको घेराभित्र सीमित राख्ने सोच कायम रहेको चर्चा गर्दै उनले क्षमता र इच्छाशक्ति भएका महिलाहरूले आफ्ना सपना मर्न नदिई यस्ता अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिइन्।