विशेष र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त, पोखरा र भैरहवा विमानस्थल प्रयोगमा छुट दिने सरकारको निर्णय

विशेष र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त, पोखरा र भैरहवा विमानस्थल प्रयोगमा छुट दिने सरकारको निर्णय

काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष तोक्नुका साथै पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरूमा विभिन्न शुल्क छुट दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष र उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई श्रम अदालतको अध्यक्ष तोक्ने निर्णय भएको जानकारी दिए।

यस्तै, गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गरिएको छ।

मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू:

  • विमानस्थल उडान शुल्कमा छुट: पोखरा र गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि २०८५ साल भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइने भएको छ। साथै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ।

  • मिटरब्याज सम्झौता अनुमोदन: मिटरब्याज पीडितहरूसँग भएको सम्झौतालाई अनुमोदन गर्दै मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरूलाई आजकै मितिदेखि अवैध घोषणा गरिएको छ।

  • छानबिन समिति गठन: गणेश नेपालीको आत्महत्या प्रकरणको सत्यतथ्य छानबिनका लागि उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय भएको छ।

  • शिक्षा र स्वास्थ्य शुल्क छुट: आर्थिक ऐन, २०८३ को दफा १८(१) बमोजिम लाग्ने शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय भएको छ।

छुटाउनुभयो कि ?