काठमाडौँ । नेपाली कांग्रेससँगको गठबन्धन टुटेपछि बदलिएको राजनीतिक परिदृश्यबिच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बिच मंगलबार विशेष भेटवार्ता भएको छ। अध्यक्ष ओली गुण्डुस्थित निवासबाट बाहिर निस्किएर ललितपुरमा भएको उक्त भेटवार्ता करिब तीन घण्टाभन्दा बढी समय चलेको थियो।
भेटका क्रममा दुई नेताबिच प्रदेश सरकार निर्माणमा सत्ता साझेदारी, आगामी स्थानीय तह तथा प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्नेदेखि लिएर पार्टी एकतातसम्मका विषयमा गम्भीर छलफल भएको नेकपा उच्च स्रोतले जनाएको छ। स्रोतका अनुसार शीर्ष नेताहरूबिचको यस वार्तासँगै वाम गठबन्धन र सहकार्यको विषयमा सहमति लगभग नजिक पुगेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड श्रीलंका भ्रमणबाट फर्किएलगत्तै सहसंयोजक माधवकुमार नेपाललाई भेटेर एमालेसँगको सहकार्यबारे संवाद अघि बढाएका थिए। त्यसैको निरन्तरतास्वरूप मंगलबार ओलीसँग सहमतिउन्मुख वार्ता भएको हो।
ओलीसँगको भेटवार्तापश्चात् मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम प्रस्थान गरेका संयोजक प्रचण्डले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको पुष्टि गरे।
उनले सामाजिक सञ्जालमार्फत पनि यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबिचको सुदृढ सहकार्यका लागि सकारात्मक पाइला बन्ने विश्वास व्यक्त गरेका छन्। यद्यपि, प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल जारी रहेकाले समझदारी अझै अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ।
यसैबिच एमाले सचिव महेश बस्नेतले पनि दुई शीर्ष नेताको भेटसँगै सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताए। वाम शक्तिहरूबीचको यस सहकार्यले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा एमालेले राखेको छ।
प्रचण्ड जनकपुरबाट काठमाडौँ फर्किएपछि एमालेसँगको सहकार्य र सहमतिबारे लिखित रूपमै समझदारीपत्रमा हस्ताक्षर हुने तयारी छ। यसैबिच, नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण एवं सङ्गठन सुदृढीकरण कार्यक्रमलाई आज (बुधबार, साउन ६ गते) संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।