काठमाडौँ। वैदेशिक रोजगारीका क्रममा हुने ठगी, शोषण र बढी रकम असुली नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले अनलाइनमार्फत नै उजुरी दिन सकिने नयाँ व्यवस्थाको सुरुवात गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मङ्गलबार विभागमा पुगेर ‘अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली’ को औपचारिक शुभारम्भ गरेका हुन्। यो नयाँ व्यवस्था लागू भएसँगै अब पीडितहरूले घरमै बसेर मोबाइल वा कम्प्युटरका माध्यमबाट आफ्ना उजुरी र आवश्यक प्रमाणहरू दर्ता गराउन सक्नेछन्।
नयाँ प्रणालीअनुसार उजुरी दर्ता भएपछि आवेदकले इमेल वा म्यासेजमार्फत ट्र्याकिङ कोड प्राप्त गर्नेछन्, जसको प्रयोग गरी आफ्नो मुद्दाको अनुसन्धान कुन चरणमा पुगेको छ भन्ने प्रगति जुनसुकै बेला हेर्न सकिने मन्त्री यादवले जानकारी दिए।
यसका साथै मन्त्री यादवले वि.सं. २०५७ देखि विभागमा थन्किएर रहेका ४० हजारभन्दा बढी पुराना उजुरीका फाइलहरूलाई व्यवस्थित गर्दै डिजिटलाइज गर्ने कामसमेत भइरहेको बताउनुभयो।
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगीलाई शून्यमा झार्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री यादवले प्रहरी तथा अन्य अनुसन्धान निकायहरूसँगको समन्वयमा ठगी गर्ने व्यक्तिहरू जहाँ भए पनि उनीहरूलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्।