कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक जनाको मृत्यु

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक जनाको मृत्यु

काठमाडौँ। काठमाडौंको कीर्तिपुरमा पार्किङ गरी राखिएको कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।

कीर्तिपुर नगरपालिका-१ स्थित ट्याङ्ग्लाफाँट चाँदनी चोकमा रोकिराखेको बा ५ च ३०३८ नम्बरको किया कारमा मंगलबार बिहान साढे ११ बजेतिर एक्कासि आगलागी भएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार कारभित्रै रहेका व्यक्तिको जलेर घटनास्थलमै मृत्यु भएको छ।

मृतकको शरीर पूर्ण रूपमा जलेकाले तत्काल पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार उक्त कार नबिल बैंकको नाममा दर्ता रहेको पाइएको छ।

घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी र स्थानीयको टोलीले कारमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ।

कारमा आगलागी कसरी र कुन कारणले भयो भन्नेबारे स्पष्ट हुन बाँकी रहेको र प्राविधिक टोलीसहित प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको छ।

छुटाउनुभयो कि ?