काठमाडौं। नेपालले आफ्नो १ रुपैयाँको सिक्काबाट नयाँ नक्सा हटाउन लागेको भन्दै भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारमा कुनै सत्यता नभएको पुष्टि भएको छ। भारतीय समाचार संस्था ‘आजतक’ ले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सा सिक्काबाट हटाएर ‘नेपाल झुकेको’ दाबीसहित भ्रामक समाचार प्रकाशित गरेको थियो।
भारतसँगको कूटनीतिक मोर्चामा सफलता मिलेको र नेपालले विवादित क्षेत्र सिक्काबाट हटाउन लागेको भन्दै आजतकले गरेको दाबी पूरै निराधार रहेको पाइएको छ।
वास्तवमा नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले सिक्काको तौल कम गर्ने र ऐतिहासिक तथा पुरातात्त्विक सम्पदालाई स्थान दिने उद्देश्यले १ रुपैयाँको सिक्कामा नक्साको सट्टा मुस्ताङको ऐतिहासिक घार गुम्बाको चित्र राख्ने प्रस्ताव तयार पारेको थियो।
राष्ट्र बैंक ऐनअनुसार सिक्काको नयाँ स्वरूप र डिजाइन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएकोमा सरकारले उक्त प्रस्ताव अस्वीकृत गर्दै फिर्ता पठाइदिएको छ। मन्त्रिपरिषद्ले सिक्काको नयाँ डिजाइन तयार गर्दा नेपालको राजनीतिक नक्सा अनिवार्य रूपमा समावेश गर्न राष्ट्र बैंकलाई स्पष्ट निर्देशन दिएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन समितिले तयार पारेको डिजाइन सञ्चालक समितिबाट पारित भएपछि मात्रै स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने कानुनी प्रावधान छ। मन्त्रिपरिषद्को स्वीकृतिविना नयाँ स्वरूपको सिक्का वा नोट प्रचलनमा ल्याउन पाइँदैन।
सरकारले राष्ट्र बैंकको प्रस्ताव अस्वीकार गर्दै नक्सा अनिवार्य गर्न निर्देशन दिइसकेकाले सिक्काबाट नक्सा हट्ने वा नेपाल झुकेको भन्ने भारतीय मिडियाको दाबी पब्लिसिटी स्टन्ट र तथ्यहीन पुष्टि भएको छ।