औषधि उत्पादनमा आत्मनिर्भरतातर्फ पाइला: दुई वर्षभित्र ३६ प्रकारका औषधि स्वदेशमै बनाइने

औषधि उत्पादनमा आत्मनिर्भरतातर्फ पाइला: दुई वर्षभित्र ३६ प्रकारका औषधि स्वदेशमै बनाइने

काठमाडौं। स्वदेशी औषधि उत्पादनलाई सुदृढ र आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस समझदारीअनुसार आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखिएको छ।

हाल ११ प्रकारका अत्यावश्यक औषधि मात्र उत्पादन गर्दै आएको लिमिटेडले नयाँ योजनाअन्तर्गत उच्च रक्तचाप, मधुमेह लगायतका दीर्घरोगका औषधिसमेत स्वदेशमै उत्पादन गर्नेछ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास , गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ।

समझदारी अनुसार कार्यक्रम कार्यान्वयनका लागि बजेट व्यवस्थापन गरिनुका साथै सरकारी स्वास्थ्य संस्थाहरूमा आवश्यक पर्ने औषधिको खरिद र आपूर्तिमार्फत स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ। यो संस्थागत र नियमित प्रणाली लागू भएपछि सरकारी खरिद प्रक्रिया प्रभावकारी बन्ने, उत्पादित औषधिको सुनिश्चित उपयोग हुने र नेपाल औषधि लिमिटेडको बजार विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

मन्त्रालयका अनुसार उत्पादित सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिनेछ। यस पहलबाट स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, आयातमाथिको निर्भरतामा कमी तथा नागरिकलाई गुणस्तरीय र सुलभ औषधि नियमित उपलब्ध गराउने सरकारको दीर्घकालीन लक्ष्य हासिल हुने विश्वास व्यक्त गरिएको छ।

छुटाउनुभयो कि ?