प्रदेश सरकारबारे कांग्रेसमा समीक्षा: आवश्यक परे प्रतिपक्षमा बस्न तयार रहेको विश्वप्रकाश शर्माको भनाइ

प्रदेश सरकारबारे कांग्रेसमा समीक्षा: आवश्यक परे प्रतिपक्षमा बस्न तयार रहेको विश्वप्रकाश शर्माको भनाइ

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार सञ्चालनका विषयमा सत्ता साझेदार दलहरूबीच केही समस्या र प्रश्नहरू उब्जिएको बताएका छन्। ४४औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रदेश सरकारहरूको आगामी यात्रा र पुनर्गठनबारे सार्वजनिक रूपमा धेरै टिप्पणी गर्नुभन्दा आन्तरिक संवाद र गृहकार्य जारी रहेको स्पष्ट पारे।

उनले संविधानको मर्मविपरीत कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्न नहुने धारणा राख्दै नागरिकको अभिमतलाई पन्छाएर सबै दल एउटै सरकारमा बस्ने संस्कृति उपयुक्त नहुने बताए। संविधान संशोधनको विषयमा छलफल भइरहेको वर्तमान अवस्थामा लोकतान्त्रिक मूल्य र मूल मर्म जोगाउनुपर्नेमा जोड दिँदै शर्माले परिस्थितिअनुसार नेपाली कांग्रेस प्रतिपक्षमा बस्न पनि पूर्ण रूपमा तयार रहेको उल्लेख गरे।

यसैबीच, नेपाली कांग्रेसले साउन ६ र ७ गते देशभर जननेता बीपी कोइरालाको ४४औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाउने तयारी गरेको छ। काठमाडौँमा केन्द्रीय स्तरमा ‘जलवायु जनचेतना जोगाउन जुटौँ’ भन्ने मूल नाराका साथ विशेष कार्यक्रम आयोजना गरिने जानकारी शर्माले दिए।

बीपी कोइराला प्रधानमन्त्री छँदा जंगलको राष्ट्रियकरण गर्ने ऐतिहासिक निर्णय भएकाले नै आज नेपालमा वनजंगल सुरक्षित रहेको स्मरण गराउँदै शर्माले सोही दूरदर्शिता र २०४६ को परिवर्तनपछि समुदायमा हस्तान्तरण गरिएको वन नीतिलाई सम्मान गर्दै यस वर्षको स्मृति दिवसलाई जलवायु जनचेतनासँग जोडिएको प्रस्ट्याए।

छुटाउनुभयो कि ?