रुपन्देहीको सैनामैनामा १५३ मिलिमिटर वर्षा, आज देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना

रुपन्देहीको सैनामैनामा १५३ मिलिमिटर वर्षा, आज देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं। पछिल्लो २४ घण्टाको अवधिमा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त क्षेत्रमा १५३.२ मिलिमिटर वर्षा भएको हो।

विभागका मौसमविद् बिनु महर्जनका अनुसार सोही अवधिमा बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा भारीदेखि धेरै भारी वर्षा दर्ज भएको छ। तुलनात्मक रूपमा मधेस प्रदेशमा भने यस अवधिमा कम वर्षा भएको छ।

मौसमविद् महर्जनले पछिल्लो छ घण्टामा भने देशका कुनै पनि स्थानमा भारी वर्षा नभएको जानकारी दिनुभयो। यस समयमा अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा मात्र भएको छ भने लुम्बिनी प्रदेशको पश्चिमी तराई क्षेत्रमा २४ मिलिमिटर वर्षा मापन गरिएको छ।

विभागका अनुसार आज दिउँसो देशका हिमाली भू-भागका केही स्थान र पहाडी क्षेत्रका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही भागमा समेत मध्यम वर्षा हुने अनुमान गरिएको छ।

यसैगरी, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको आकलन गरिएको छ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको (देब्रिस फ्लो) जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ।

छुटाउनुभयो कि ?