काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावले गर्दा देशभर अधिकांश भू-भागमा बदली हुनुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा तथा मधेस प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूका साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति पनि देशभर साधारणतया मौसम बदली नै रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना कायम रहनेछ। मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थानहरूमा र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।