कोसी नदीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, ब्यारेजका २८ ढोका खोलिए

कोसी नदीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, ब्यारेजका २८ ढोका खोलिए

सप्तरी । केही दिनदेखि जारी निरन्तरको वर्षाका कारण कोसी नदीमा पानीको बहाव उच्च बिन्दुमा पुगेको छ । नदीमा पानीको सतह बढेर २ लाख क्युसेक नाघेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोकाहरू खोलिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक रहेको पानीको बहाव दिउँसोको समयमा तीव्र गतिमा बढेको हो । दिउँसो ३ बजे १ लाख ९० हजार ३९० क्युसेक मापन गरिएको बहाव एक घण्टामै अर्थात् दिउँसो ४ बजेसम्म आइपुग्दा २ लाख ९ हजार ८४० क्युसेक पुगेको छ ।

नदीको जलसतह खतराको बिन्दु नजिक पुगेपछि प्रशासनले कोसी ब्यारेजमा चेतावनीस्वरूप रातो झण्डा गाड्नुका साथै रातो बत्ती बालेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी हेमराज घिमिरेले पानीको बहाव अझै बढ्न सक्ने र अवस्था थप जटिल हुन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्क रहन आग्रह गरेका छन् । साथै, स्थानीय प्रशासनले सर्वसाधारणलाई अनावश्यक रूपमा नदी किनारतर्फ नलगाउन समेत सचेत गराएको छ ।

छुटाउनुभयो कि ?