चितवन। चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित जलबिरे नजिकै नारायणगढ-मुग्लिन सडकखण्डमा आज बिहान तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा २६ जना यात्रु घाइते भएका छन्।
आज बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३-००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३-००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३-००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किएर उक्त दुर्घटना भएको हो।
दुर्घटनामा परी घाइते भएका यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी १० बजेदेखि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहानैदेखि रोक हटाएर सडक सुचारु गरिएलगत्तै यो दुर्घटना भएपछि सडक पुनः अवरुद्ध बन्न पुगेको थियो।
दुर्घटना लगत्तै सुरक्षाकर्मीको टोली खटिएर दुर्घटनाग्रस्त सवारीसाधनहरू हटाई अवरोध पन्छाएपछि अहिले सडक दुवैतर्फी रूपमा पुनः सञ्चालनमा आएको छ। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।