एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर, भारतको मेदान्त अस्पतालमा उपचार जारी

एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर, भारतको मेदान्त अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर संक्रमण भएको छ। नेता पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै आफ्नी श्रीमती क्यान्सर रोगबाट पीडित भएको र हाल उनको उपचार भइरहेको जानकारी सार्वजनिक गरेका हुन्।

पोखरेलका अनुसार उनकी श्रीमती मिराको हाल भारतको गुरूँगाउँस्थित मेदान्त अस्पतालमा उपचार चलिरहेको छ। श्रीमतीको स्वास्थ्योपचारमा निरन्तर खटिनुपरेका कारण आफू पछिल्लो समय देशभित्र भइरहेका विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिहरूमा प्रत्यक्ष रूपमा सहभागी हुन नसकेको उनले स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै नेता पोखरेलले यस कठिन घडीमा श्रीमतीको स्वास्थ्य लाभको कामना गर्ने तथा विभिन्न माध्यमबाट चासो र चिन्ता व्यक्त गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरेका छन्।

यस प्रतिकूल समयमा पनि सद्भाव राख्दै विभिन्न माध्यमबाट सम्पर्क गर्ने, शुभेच्छा प्रकट गर्ने र प्रत्यक्ष भेट्न आउने साथीभाइ, शुभचिन्तक तथा आफन्तजनप्रति उनले हार्दिक आभार समेत प्रकट गरेका छन्। फेसबुक सन्देशमा श्रीमती अस्पतालमा उपचाररत रहेको जानकारी गराए पनि उनलाई कुन प्रकारको क्यान्सर भएको हो भन्नेबारे भने नेता पोखरेलले खुलाएका छैनन्।

छुटाउनुभयो कि ?