काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही माथि र पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास रहेकाले विभिन्न भागमा मौसम बदली भई वर्षा हुने देखिएको हो।
हाल देशभर साधारणतया बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ। देशका पहाडी भूभागका धेरै स्थानहरूका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षासँगै देशका हिमाली भूभागका केही स्थानहरूमा हिमपातको समेत सम्भावना रहेको छ। दिउँसोको समयमा देशका पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूको अनुमान छ।
मौसमको यो क्रम राति पनि जारी रहने देखिन्छ। आज राति देशभर साधारणतया बदली रही बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानहरूमा वर्षा हुनेछ।
त्यस्तै मधेस र कोशी प्रदेशका पहाडी तथा तराईका भूभागका साथै कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा तथा हिमपातको आकलन गरिएको छ।
यसैगरी राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा र कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भाग तथा लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको हो।
मौसमको यो प्रतिकूलताका कारण सर्वसाधारणको दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहणका साथै सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सबैलाई पूर्वसतर्क रहन सचेत गराइएको छ।