धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूसँग गहन छलफल सुरु गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहानदेखि जारी रहेको यस बैठकमा प्रदेश सरकारको समसामयिक राजनीतिक अवस्था, सत्ता साझेदारीको आगामी रणनीति तथा अन्य विविध राजनीतिक विषयहरूमा केन्द्रित रहेर संवाद भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
बुधबार मात्रै मुख्यमन्त्री शाहले सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का चार जना मन्त्रीहरूलाई पदबाट बर्खास्त गरेपछि सुदूरपश्चिम प्रदेशको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ।
एमाले मन्त्रीहरूको बर्खास्तीसँगै प्रदेश सरकार अल्पमतमा पर्ने जोखिमका बीच मुख्यमन्त्री शाहले नयाँ राजनीतिक समीकरण निर्माणका लागि तीव्र कसरत थाल्नुभएको हो। यसै सिलसिलामा नेकपाका नेताहरूसँग भइरहेको यो छलफललाई प्रदेश सरकारको निरन्तरता र नयाँ शक्ति सन्तुलनका दृष्टिले निकै अर्थपूर्ण रूपमा हेरिएको छ।