एकसाथ ६ जना सचिवको सरुवा, राउत तीन महिनामै उद्योगबाट महिला बालबालिका मन्त्रालयमा

एकसाथ ६ जना सचिवको सरुवा, राउत तीन महिनामै उद्योगबाट महिला बालबालिका मन्त्रालयमा

काठमाडौं। सरकारले निजामती प्रशासनतर्फ एकसाथ ६ जना विशिष्ट श्रेणीका अधिकारी (सचिव) हरूको कार्यक्षेत्र हेरफेर गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा संवैधानिक निकायहरूमा कार्यरत ६ जना सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो सरुवाको क्रममा तीन महिनाअघि मात्रै निर्वाचन आयोगबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आएका सचिव कृष्णबहादुर राउत पुनः अर्को मन्त्रालयमा तानिएका छन्।

उनलाई उद्योग मन्त्रालयबाट हटाएर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। महिला बालबालिका मन्त्रालयकी सचिव राधिका अर्याललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त) मा सरुवा गरिएको छ।

राउत बाहिरिएपछि रिक्त भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सुम्पिएको छ। यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासनतर्फका सचिव डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव पदमा पठाइएको छ।

यसैगरी, राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत सचिव दीनानाथ मिश्रलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवमा स्थानान्तरण गरिएको छ। मिश्रको सरुवापछि राष्ट्रिय सतर्कता केन्द्रको सचिवको रिक्त पदमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत सचिव विश्वबाबु पुडासैनीलाई ल्याइएको छ। सरकारले प्रशासनिक कार्यक्षमता र आवश्यकतालाई मध्यनजर गर्दै यो व्यापक हेरफेर गरेको बताए पनि तीन महिनामै सचिव परिवर्तन हुने परिपाटीले प्रशासनिक निरन्तरतामा असर पर्ने भन्दै सिंहदरबार वृत्तमा चर्चा सुरु भएको छ।

छुटाउनुभयो कि ?