काठमाडौं। प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायत समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।
सिंहदरबारमा आज बसेको बैठकमा सभापति रहबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभावसहित अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिएका हुन्।
उनले पुराना ग्यास सिलिन्डरको उपयोगबाट उपभोक्तालाई पर्नसक्ने जोखिम न्यूनीकरणका लागि नेपाल एलपी ग्यास, आयल निगम र मन्त्रालयकोतर्फबाट नियमित अनुगमन गरी गुणस्तरीय जाँचको सुनिश्चितता गर्न थप निर्देशन दिएका छन्।