तराई नजिक पुग्यो मनसुनको न्यूनचापीय रेखा, आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

तराई नजिक पुग्यो मनसुनको न्यूनचापीय रेखा, आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

काठमाडौं। हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक सरेकाले देशभर मौसममा बदली आएको हो। आज देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी र तराई भूभागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेस र बागमती, गण्डकी एवं लुम्बिनी प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ।

आज राति पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान र अन्य प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जनसहित हिमपात र वर्षाको सम्भावना कायमै रहनेछ।

देशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ भने कोशी प्रदेशका पहाडी भूभाग र कोशी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा रातिको समयमा भारी वर्षा हुनसक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रहरूमा विशेष सावधानी अपनाउन आवश्यक देखिएको छ। ठूलो वर्षाका कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक प्रकोपको जोखिमबाट बच्न महाशाखाले सबैमा अपिल गरेको छ।

वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागले जारी गर्ने पछिल्लो मौसमी सूचनामा अद्यावधिक रहन महाशाखाले विशेष अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?