काठमाडौँ । मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले विभिन्न पाँच वटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले कृषि क्षेत्रको सुधारका लागि बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
यसै गरी विपद्का समयमा अग्रपङ्क्तिमा रहेर काम गर्ने सशस्त्र प्रहरी बल, नेपालका खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।
खेलकुद क्षेत्रतर्फ प्रोत्साहन बढाउन मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गर्न सफल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कारका साथै सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।
बैठकले नेपाल वायुसेवा निगमको रिक्त नेतृत्व सम्हाल्ने गरी नयाँ जिम्मेवारी समेत तोकेको छ, जसअन्तर्गत निगम सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको कामकाज गर्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गरिएको छ ।
यसका साथै नागरिक सरोकारको विषयका रूपमा रहेको अनुचित लेनदेन अर्थात् मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरूलाई गृह मन्त्रालयले तत्कालै कार्यान्वयनमा लैजाने निर्णय समेत मङ्गलवारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।