प्रधानमन्त्री बालेन र रवि लामिछानेले संसद्को मर्यादा उल्लंघन गरेको भन्दै एमालेको नियमापत्ति

प्रधानमन्त्री बालेन र रवि लामिछानेले संसद्को मर्यादा उल्लंघन गरेको भन्दै एमालेको नियमापत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् बैठकको आधारभूत मर्यादा र नियमावली उल्लंघन गरेको भन्दै सभामुखको गम्भीर ध्यानाकर्षण गराएको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद ऐनबहादुर महरले नियमापत्ति जनाउँदै प्रधानमन्त्री र रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा नियमावलीको स्पष्ट व्यवस्थाको खिल्ली उडाएको आरोप लगाए।

सांसद महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) मा उल्लेखित व्यवस्था स्मरण गराउँदै संसद् चलिरहेका बेला सभामुखको आसन तथा रोष्ट्रममा बोलिरहेका सदस्यको बीचबाट हिँड्न नहुने कानुनी मर्यादा रहेको उल्लेख गरे। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले विशेष समयमा आफ्नो भनाइ राखिरहेका बेला अचानक बैठक हलमा प्रवेश गरेका प्रधानमन्त्री शाह र सभापति लामिछाने सभामुखको आसन र बोलिरहेकी सांसदको बीच भाग हुँदै अगाडि बढेपछि संसद्‌मा नियमापत्ति भएको हो।

सदनमा नियमापत्ति जनाउँदै सांसद महरले भने, "माननीय खुश्बु ओली बोलिरहनुभएको अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका नेता तथा सभापतिज्यूले नियमको ठाडो उल्लंघन गरेर हिँड्नुभएको छ। यस विषयमा नियमापत्ति गर्दै म सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु र संसद्‌को मर्यादा कायम राख्न यसबारे रुलिङको माग गर्दछु।"

उनले संसद्को गरिमा, मर्यादा र नियम साना-ठूला सबै नेता तथा प्रधानमन्त्रीका लागि समेत समान रूपमा लागू हुनुपर्ने भन्दै सभामुखबाट यस्ता विषयमा आवश्यक निर्देशन र रुलिङ आउनुपर्ने माग गरे। एमालेको नियमापत्तिपछि केही बेर संसद् बैठकमा अन्योलको वातावरण सिर्जना भएको थियो।

छुटाउनुभयो कि ?