काठमाडौं। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले मुलुकमा बढ्दो निराशा, मनसुनजन्य विपद्, विकास पूर्वाधारको नाजुक अवस्था र दैनिक उपभोग्य वस्तुको अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बैठकको आकस्मिक समयमा बोल्दै सांसद डा. अमरेशकुमार सिंहले देश र लोकतन्त्रको अस्तित्व जनताको भरोसामा मात्रै टिकेको स्मरण गराउँदै अहिले समाजमा व्याप्त निराशा चिर्न सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर जनतामा उत्साह भर्ने काम गर्नुपर्नेमा जोड दिए।
राष्ट्र निर्माणका लागि अब सबै दल एकजुट हुनुपर्ने बेला आएको भन्दै उनले पछिल्लो हप्ता निराशाका कारण आत्मदाहको बाटो रोजेर मृत्युवरण गरेका तीन जना युवाहरूप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरे।
बैठकमा मनसुनजन्य प्राकृतिक प्रकोपका कारण सिर्जना भएको मानवीय तथा भौतिक क्षतिको विषय पनि जोडदार रूपमा उठेको छ। सांसद खडकबहादुर बुढाले यही असार २८ गते अविरल वर्षासँगै गएको पहिरोले घर पुरिँदा जाजरकोटको भेरी नगरपालिकाका जयशीला शाहको दुःखद मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराए।
भूकम्प प्रभावित क्षेत्रका जनताले बर्सेनि यसरी नै ज्यान गुमाउनुपर्ने अवस्था कहिलेसम्म रहने हो भन्दै उनले सरकारसँग यसको दीर्घकालीन जवाफ माग गरे।
यसैगरी, वर्षायामको सुरुवातसँगै देशका पूर्वी जिल्लाहरूमा दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको चरम अभाव देखिएको संसद्मा उठाइएको छ।
सांसद नरेन्द्रकुमार केरुङले वर्षाका कारण बाटो अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङमा पेट्रोलियम पदार्थ तथा एलपिजी ग्यासलगायतका सामग्रीको अभाव भई सर्वसाधारणको जनजीवन कष्टकर बनेको तर्फ सरकारको ध्यान खिचे।
मेची राजमार्ग अन्तर्गतको राजदुवाली सडकखण्डको नियमित मर्मतसम्भार नहुँदा जनताले लामो समयदेखि सास्ती भोग्नुपरेको उल्लेख गर्दै उहाँले सडक मर्मतको काम तत्काल अघि बढाउन माग गरे।
त्यस्तै, तराई क्षेत्रमा चर्को गर्मीकै बीच भइरहेको अघोषित लोडसेडिङप्रति सांसद दीपककुमार साहले संसद्मा आक्रोश पोखे। दैनिक १२ देखि १८ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुँदा सुनसरीका सर्वसाधारण, उद्योगी र किसानले चरम सास्ती व्यहोर्नुपरेको उनले बताए। सांसद साहले विद्युत् प्रणालीको नियमित मर्मतसम्भार गरी बत्ती जाने समस्या तत्काल समाधान गर्न नेपाल सरकारसँग जोडदार माग गरे।