सञ्चारगृहमा गाडी तेर्स्याएर त्रास फैलाइएको घटनाप्रति संसदीय समितिको आपत्ति

सञ्चारगृहमा गाडी तेर्स्याएर त्रास फैलाइएको घटनाप्रति संसदीय समितिको आपत्ति

काठमाडौँ । राजधानीका प्रमुख सञ्चारगृहका कार्यालय बाहिर शंकास्पद रूपमा गाडी पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाप्रति प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गम्भीर आपत्ति जनाएको छ।

सोमबार बसेको समितिको बैठकले यस घटनालाई स्वतन्त्र प्रेसमाथि त्रास फैलाउने नियोजित प्रयासको रूपमा लिँदै संलग्न दोषीहरूमाथि तत्काल कानुनी कारबाही अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो।

मिडियालाई त्रसित बनाउने कार्य स्वीकार्य छैन: सभापति बास्कोटा

बैठकमा बोल्दै समिति सभापति समिक्षा बास्कोटाले कान्तिपुर मिडिया हाउस, हिमालय टेलिभिजन र अनलाइनखबरको मुख्य प्रवेशद्वारमै अज्ञात व्यक्तिहरूले शंकास्पद रूपमा सवारी साधन तेर्स्याएर हिँडेको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताइन्। सञ्चार माध्यमलाई त्रसित बनाउने र भयको वातावरण सिर्जना गर्ने यस्ता कार्यहरू लोकतान्त्रिक व्यवस्थामा कुनै पनि बहानामा स्वीकार्य नहुने उनको भनाइ थियो।

"यो विषयमा हामीले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छौँ। मिडियालाई त्रसित बनाउने कार्यमा संलग्न जोकोही होस्, यसलाई सरकारले गम्भीर रूपमा लिनुपर्छ र दोषीमाथि आवश्यक कारबाही हुनुपर्छ। आगामी दिनमा पनि यो विषयमा समितिमा उचित छलफल हुनेछ," सभापति बास्कोटाले भनिन्।

प्रहरीद्वारा गाडी नियन्त्रणमा, अनुसन्धान जारी

सभापति बास्कोटाले मिडिया हाउसको गेटमा सवारी पार्किङ गरी अवरोध खडा गर्ने निजी नम्बर प्लेट भएका ती सवारी साधनहरूलाई ट्राफिक प्रहरी र सुरक्षा निकायले क्रेनको सहायताले हटाइसकेको जानकारी समितिलाई गराइन्।

सोमबार बिहानै तीनकुनेस्थित कान्तिपुर, मध्यबानेश्वरस्थित हिमालय टीभी र नयाँ बानेश्वरस्थित अनलाइनखबरको कार्यालय अगाडि एकै समयमा शंकास्पद रूपमा गाडीहरू बेवारिसे छाडेर चालकहरू फरार भएका थिए। यस शृङ्खलाबद्ध अवरोधको प्रकृति र यसको उद्देश्यबारे प्रहरीले सवारी साधनहरू नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइसकेको छ।

छुटाउनुभयो कि ?