काठमाडौं। प्रस्तावित “शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३” का सम्बन्धमा नेपालका शैक्षिक परामर्श व्यवसायीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग विशेष छलफल गरेका छन्।
१४ वटा विभिन्न शैक्षिक परामर्शसम्बन्धी संघ-संस्था तथा 'फ्री कन्सल्टेन्ट ग्रुप' का प्रतिनिधिहरू सम्मिलित संयुक्त टोलीले सोमबार रास्वपा केन्द्रीय कार्यालय पुगेर पार्टीका महामन्त्री विपिन कुमार आचार्यसँग छलफल गरेको हो। सोही अवसरमा प्रतिनिधिमण्डलले नियमावलीका प्रावधानहरूमा सुधारको माग राख्दै संयुक्त रूपमा तयार पारिएको ज्ञापनपत्र महामन्त्री आचार्यलाई हस्तान्तरण गरेको छ।
छलफलका क्रममा परामर्श व्यवसायीहरूले नयाँ नियमावलीका कतिपय व्यवस्थाले व्यवसाय सञ्चालन र व्यवस्थापनमा पार्न सक्ने असरबारे पार्टीको ध्यानाकर्षण गराएका थिए। ज्ञापनपत्र बुझ्दै रास्वपा महामन्त्री आचार्यले व्यवसायीहरूले उठाएका माग र मुद्दाहरूलाई गम्भीरतापूर्वक अध्ययन गर्ने प्रतिबद्धता जनाए।
उनले यस विषयमा पार्टीका सभापति रवि लामिछानेसँग आवश्यक परामर्श गर्ने उल्लेख गर्दै आगामी दिनमा नीतिगत सुधार र समन्वयका लागि पार्टीकातर्फबाट सकारात्मक संवाद र पहलकदमी लिने आश्वासन दिएका छन्। व्यवसायीहरूले यस संवादलाई सकारात्मक रूपमा लिँदै आगामी प्रगतिका बारेमा थप सहकार्य गर्दै जाने बताएका छन्।








