कान्तिपुरको गेटमा अलपत्र छाडिएको गाडी रास्वपा नेता रवि जयसवालले प्रयोग गर्ने गरेको खुलासा

कान्तिपुरको गेटमा अलपत्र छाडिएको गाडी रास्वपा नेता रवि जयसवालले प्रयोग गर्ने गरेको खुलासा

काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मूल ढोकामा शंकास्पद रूपमा तेर्स्याएर छाडिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ।

बा ०१–०३४ च ८४८० नम्बरको उक्त सवारी साधनले सञ्चारगृहको गेट अवरुद्ध गरेपछि सुरक्षा निकायले क्रेनको प्रयोग गरी त्यसलाई नियन्त्रणमा लिएको थियो।

बैंकको नाममा दर्ता, बुबाद्वारा पुष्टि

यातायात व्यवस्था कार्यालयको अभिलेख अनुसार उक्त गाडी हाल सानिमा बैंकको नाममा दर्ता रहेको छ। रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जयसवालले उक्त गाडी आफ्ना छोरा रविले नै प्रयोग गर्दै आएको पुष्टि गरेका छन्।

"यो गाडी करिब एक महिनाअघि खरिद गरिएको हो। नामसारीको प्रक्रिया बाँकी रहेकाले अझै बैंककै नाममा देखिएको हो," मेयर जयसवालले भने, "गाडी कहिले छोरा आफैँले त कहिले चालकले चलाउने गर्थे।"

उल्लेखनीय छ, रवि जयसवालका बुबा कन्थमणि नेकपा एमालेबाट निर्वाचित मेयर हुन्।

रास्वपाको केन्द्रीय विभागमा आबद्ध

केही समयअघि मात्र रास्वपामा प्रवेश गरी सक्रिय राजनीतिमा लागेका रविलाई पार्टीले गत जेठ ८ गते ‘केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभाग’को सदस्यमा मनोनयन गरेको थियो। उनलाई रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले उक्त जिम्मेवारी दिएका थिए।

तीन सञ्चारगृहमा एकैसाथ अवरोध, प्रहरी अनुसन्धान सुरु

सोमबार बिहान कान्तिपुर मिडिया हाउसका साथै हिमालय टेलिभिजन र अनलाइनखबरको गेटमा पनि यसै गरी नियोजित रूपमा गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको थियो। प्रहरीले ती सबै सवारी साधनहरू क्रेनमार्फत उठाएर थानकोट तथा सम्बन्धित वृत्तमा राखी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले घटनाको प्रकृति र यसको उद्देश्यबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

छुटाउनुभयो कि ?