मकवानपुरको कर्रा खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर बाँच्न सफल

मकवानपुरको कर्रा खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर बाँच्न सफल

मकवानपुर । अविरल वर्षाका कारण मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले एक खाली ट्रक बगाएको छ। सोमबार बिहान करिब ७:४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिक खोला तर्ने क्रममा बनाइएको कल्भर्टमा पानीको बहाव अचानक बढेपछि उक्त दुर्घटना भएको हो। सिमेन्ट फ्याक्ट्रीबाट ढुङ्गा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रकलाई तीव्र बहावले बगाएको प्रहरीले जनाएको छ।

ट्रक बग्ने क्रममा त्यसका चालक चितवनको रत्ननगर नगरपालिका–१३ बस्ने ३४ वर्षीय दीपक थिङ पनि सँगै बगेका थिए। उनले समयमै पौडिएर आफैँ खोला बाहिर निस्कन सफल भई ज्यान जोगाएका छन्। खोलाबाट बाहिर निस्कने क्रममा उनको खुट्टामा सामान्य चोट लागेको छ।

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक व्यवस्थापनमा जुटेको थियो। घाइते चालक थिङलाई उपचारका लागि हेटौँडा–चौघडास्थित राजु मेडिकलमा पठाइएको छ। प्रहरीका अनुसार यस दुर्घटनामा अन्य कुनै मानवीय क्षति भएको छैन भने खोलामा बगेको ट्रकलाई बाहिर निकाल्न स्थानीय प्रशासन र सुरक्षाकर्मीको समन्वयमा पहल भइरहेको छ।

छुटाउनुभयो कि ?