स्वदेश तथा विदेशमा भानु जयन्तीको रौनक: भाषा र संस्कृति मार्फत जोडिएको नेपाली मन

स्वदेश तथा विदेशमा भानु जयन्तीको रौनक: भाषा र संस्कृति मार्फत जोडिएको नेपाली मन

काठमाडौं। नेपाली वाङ्मयका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न साहित्यिक एवं सांस्कृतिक कार्यक्रमका साथ मनाइँदैछ।

भौगोलिक रूपमा एकीकरण भएको नेपाललाई भाषा, साहित्य र संस्कृतिका माध्यमबाट भावनात्मक रूपमा एकताबद्ध बनाउन भानुभक्तको योगदान अतुलनीय मानिन्छ। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका उनले एक सामान्य घाँसीको प्रेरणादायी संवादबाट प्रभावित भई नेपाली साहित्य साधनाको यात्रा सुरु गर्नुभएको इतिहास छ।

सांस्कृतिक चेतना जगाउन र नेपाली भाषालाई स्थापित गर्न उहाँन अयोध्याका राजा रामको जीवनीमा आधारित संस्कृत रामायणलाई सरल र सरस नेपाली भाषामा भावानुवाद गरेका थिए। भानुभक्तद्वारा रचित सोही ‘रामायण’ आज पनि नेपाली समाजमा घरघरमा सस्वर लय हालेर पाठ गर्ने गरिन्छ।

रामायणका अतिरिक्त उनका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ तथा अनगन्ती फुटकर रचनाहरू नेपाली साहित्यका अमूल्य सम्पत्ति हुन्, जसले नेपाली जातीय एकता र राष्ट्रिय पहिचानलाई थप मजबुत बनाएका छन्।

भानु जयन्तीका अवसरमा आज देशभर प्रभातफेरी तथा आदिकविको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रमहरू तय गरिएका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरमा रहेको भानुभक्तको प्रतिमामा माल्यार्पणसहित विशेष समारोहको आयोजना गरिएको छ भने भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद् जस्ता संघसंस्थाहरूले पनि विभिन्न साहित्यिक गोष्ठी तथा कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।

नेपाली भाषा र संस्कृतिको यो उत्सव नेपालमा मात्र सीमित नरही नेपाली भाषाभाषीहरूको बाहुल्यता रहेका विदेशी भूभागहरूमा पनि उत्तिकै उत्साहका साथ मनाउने गरिन्छ। भारतको दार्जिलिङ, सिक्किम, असमका साथै भुटान, म्यानमार (बर्मा) र विश्वका विभिन्न मुलुकमा रहेका नेपाली समुदायले आजको दिनलाई विशेष महत्त्वका साथ मनाउँदै आएका छन्।

छुटाउनुभयो कि ?