बागमतीको बाढी सुकुम्बासी होल्डिङ सेन्टरमा पस्यो: १५४ जना प्रभावित, ५४ जनाको उद्धार गरी त्रिविको स्मृति भवनमा स्थानान्तरण

बागमतीको बाढी सुकुम्बासी होल्डिङ सेन्टरमा पस्यो: १५४ जना प्रभावित, ५४ जनाको उद्धार गरी त्रिविको स्मृति भवनमा स्थानान्तरण

कीर्तिपुर। देशभर जारी अविरल वर्षाका कारण बागमती नदीमा आएको भीषण बाढीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। नदीको बहाव खतराको सतहभन्दा माथि पुगेर सेन्टरभित्र बाढी पसेपछि विगतदेखि नै त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारहरू पुनः विस्थापित हुन बाध्य भएका हुन्।

होल्डिङ सेन्टरमा तीव्र रूपमा पानी भरिएपछि घटनास्थलमा खटिएका सुरक्षाकर्मीहरूले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाल्न सफल भए पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा, खाद्यान्न र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।

प्रभावित स्थानीयका अनुसार राति अचानक बाढी बस्तीमा पसेका कारण धेरैजसो परिवारले आफ्नो सरसामान सुरक्षित स्थानमा सार्ने मौकासमेत पाएनन्। यसैबिच, बाढीको उच्च जोखिमका बाबजुद सुरक्षाकर्मीहरू राति करिब २ बजेपछि मात्रै घटनास्थलमा आइपुगेको भन्दै पीडितहरूले उद्धारमा ढिलाइ भएको गुनासो गरेका छन्।

गृह मन्त्रालयले दिएको आधिकारिक जानकारी अनुसार राति साढे १ बजे सुन्दरीघाट क्षेत्र डुबानमा परेको सूचना प्राप्त भएको थियो। सूचना लगत्तै दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा विपद् व्यवस्थापन (डिजास्टर म्यानेजमेन्ट) टोलीसहित ३० जना र नेपाल प्रहरीका थप ३० जना गरी कुल ६० जनाको संयुक्त उद्धार टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो।

उक्त उद्धार टोलीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका कुल १५४ जना प्रभावितहरूमध्ये ५४ जनाको सकुशल उद्धार गरी त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरभित्र रहेको स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको छ। बाँकी प्रभावितहरूमध्ये ६ जना आफ्ना नातेदार तथा नजिकैको होस्टलमा बस्न गएका छन् भने ९४ जनाले आफ्नो थातथलो छोडेर अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको सुरक्षित र अलि अग्लो स्थानमा बसिरहेका छन्।

हाल घटनास्थलमा सम्बन्धित विषयगत क्लस्टरहरू पूर्ण रूपमा सक्रिय भई बाढी प्रभावितहरूका लागि खाना, शुद्ध खानेपानी, अस्थायी बसोबास तथा अन्य आवश्यक राहत सामग्रीको व्यवस्थापन र वितरण गरिरहेको गृह मन्त्रालयले जनाएको छ।

छुटाउनुभयो कि ?