काभ्रे। पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त भई द्रुत गतिमा पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक-सिन्धुली खण्ड अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाट पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ।
नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघी राजधानी काठमाडौंसँग जोड्ने यो छोटो दूरीको राजमार्ग यसअघि सामान्य वर्षा हुनासाथ अवरुद्ध हुने गरेको थियो। तर, डिभिजन सडक कार्यालय भक्तपुरले अबको वर्षायाममा राजमार्ग अवरुद्ध हुनै नदिने र भइहालेको खण्डमा पनि अधिकतम आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने गरी विशेष तयारी पूरा गरेको छ।
वर्षायामलाई मध्यनजर गर्दै सम्भावित विपद्को सामना गर्न आवश्यक हेभी इक्विपमेन्ट र प्राविधिक टोलीलाई तम्तयारी अवस्थामा राखिएको डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।
उनका अनुसार साविककै स्थानमा पुनर्निर्माण भएका अधिकांश खण्डहरूबाट अहिले नै सवारी आवागमन सुचारु भइसकेको छ। यसअघि रोशी खोलामै अस्थायी डाइभर्सन बनाइएका कारण खोलाको बहाव बढ्ने बित्तिकै सडक बगाउने समस्या रहेकोमा अब चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्रयाकलाई सुरक्षित बनाएर सवारी चलाउन थालिएको छ।
यद्यपि, चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरी विशेष निगरानीमा राखेको छ।
विगतमा २०८१ असोजको ठूलो बाढीपहिरोले राजमार्गको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकखण्डमा व्यापक क्षति पुर्याएको थियो।
क्षतिग्रस्त कुल २९.५ किलोमिटर सडकमध्ये सबैभन्दा बढी प्रभावित बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक खण्डको स्थायी पुनर्निर्माणको काम जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गरिरहेको छ।
जाइकाले उक्त खण्डमा जग बलियो बनाउन माटो भर्ने र ठूला ढुंगा (बोल्डर) राख्ने काम गरिरहेको छ, जसका लागि जापान सरकारले दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी भएको थियो। बाँकी खण्डहरूमा काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौतामार्फत काम अघि बढाइएको छ।
अहिले पुनर्निर्माण भइरहेको यो सडकखण्ड दुई लेनको हुनेछ भने हाल सञ्चालनमा रहेका पुलहरूसँगै अर्को नयाँ पुल निर्माण गरेर पाँचवटा पुललाई दुई लेनमा परिणत गर्ने दीर्घकालीन योजना समेत रहेको छ।
जापान सरकारकै अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि धुलिखेल-सिन्धुली-बर्दिबास १६० किलोमिटर लामो बिपी राजमार्ग निर्माण सुरु गरिएको थियो। अहिले क्षतिग्रस्त स्थानहरूमा ग्राभेल गर्ने र ठूला ढुंगा राखेर सडकलाई बलियो बनाउने काम अन्तिम चरणमा पुगेकाले यो वर्षायाममा यात्रुहरूले ढुक्क भएर यात्रा गर्न पाउने विश्वास सडक कार्यालयले लिएको छ।